समृद्ध नेपालका तुइनमा बली चढ्ने सुखी नेपाली
गत असार ३१ गते दार्चुलामा २८ वर्षिय नारायण बुढाथोकी तुईन चुँडिएर महाकालीमा बेपत्ता भए । एक्काइसौं शताब्दीमा पनि ज्यानमारा तुईन, यहाँ मान्छे भएर बाँच्न गाह्रो छ । १० वर्षअघि २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले देश तुइन मुक्त गर्ने घोषणा गरेका थिए । न त आजसम्म देश तुईन मुक्त भयो, न देशमा एउटा उद्योग थपियो, तरपनि मुलुकको सार्वजनिक ऋण २७ खर्ब पुग्यो । यत्रो पैसा कसको खल्तीमा गयो ?! भन्नु पर्छ र अब ?! दमकको भ्युटावरले कर्णालीमा तुईनबाट मान्छे खसेको देख्यो त ?! यो पुरै राज्यसत्ता विरुद्ध हत्याको केश चल्नुपर्ने घटना हो । बोल्न पाइस् भन्छन्, खान दिँदैनन् । लेख्न पाइस् भन्छन्, काम दिँदैनन् । हिड्न पाइस् भन्छन्, सुरक्षा दिँदैनन् । स्वतन्त्रता पाइस् भन्छन्, बोल्न दिँदैनन् । सुशासन भन्छन्, भ्रष्टचारी समाउदैनन् । समृद्धि भन्छन्, तुईन हटाउदैनन् । व्यवस्था विरोधी आफैं हौं, नपत्याए ऐना हेर्नु ।पानीजहाज, भ्युटावर, घरघरमा ग्याँस पाईप जोडेर देश ओठे समृद्व बनाएका प्रधानमन्त्री ओलीले त्यतिबेला तुईन बिस्थापन गरेर नयाँ ईतिहास कोरेका थिए तर बिडम्बना सुखी नेपाली, समृद्ध नेपालको दार्चुलामा नारायण बुढाथोकी तुईन चुँडिएर महाकालीमा बेपत्ता हुन्छन् । कतै डेढ अर्बको भ्यूटावर, कतै चुडिँएका तार । कतै हेलिकप्टरको सवारी, कतै एकमुठी साँस जोगाउन हम्मेहम्मे । ए सरकार ! कति जनाले नदीमा बली चढेपछि तुइन विस्तापित हुने हो ? भन्दिनु पर्यो । सुखी नेपाली, समृद्ध नेपालमा महिलाहरू छाउगोठमा सर्पले डसेर मर्नुपर्ने, जनता नदी तर्दा तुईन चुडिएर मर्नुपर्ने ! हैन कस्तो हो यो समृद्ध मुलुक भनेको ? बरू अब सुखी नेता, समृद्ध पार्टी भनौं ।हेर्नुस त, तुईन मुक्त देश, भ्यू टावर, रेल, पानीजहाज, घरघरमा ग्यासभन्दा प्रधानमन्त्री केपी ओलीको गफ याद आउँछ । पानी जहाज आइ सक्यो, पोखरासम्म रेल गएपछि बेनीको कुरा गर्न परेन । तुईन विस्थापित भइसक्यो, बाटोघाटोको कुरा गर्न परेन, नारणघाट–बुटवल सडक हेरे भो । अब दैलेखको ग्यासले सपना बाँड्दै छ । चाल्र्स शोभराजलाई नै माथ खुवाउने भए शासकले अनि आशारामहरु ताली पिड्दै । तुइनको खतरापूर्ण डोरी काटेर बजेटको पोटली बाँडिँदा, ‘उत्तरदायित्व’ नामको लङ्गोटी कसैको नजरमा परेन । कर्णाली त अझै त्यो डोरीमै समात्न बाध्य छ, यसैमा विकास खोज्ने कि आलोचना गर्ने ? अर्थमन्त्रालयका प्राय सचिवहरुले आफ्नो कुल देवताको मन्दिर बनाउन पनि बजेट लैजान्छन् । तर सुदुरका बच्चाहरु अझैपनि तुइनबाट विद्यालय जानुपर्ने बध्यता छ ।जलन अस्पताल बनाउन, पैसा छैन । तुईन फेर्न, पैसा छैन । वर्थ सेन्टर खोल्न, पैसा छैन । किसानलाई अनुदान दिन, पैसा छैन । दर्जनौ बन्द उद्योग चलाउन, पैसा छैन । एम्बुलेन्स र दमकलको लागि, पैसा छैन तर सांसदलाई दिन जनही २१ करोड पैसा छ । तुइनबाट खसेर महाकालीमा युवा बेपत्ता । भिजिट भिसालाई कारबाही गर्ने कानुन बेपत्ता । निर्मलालाई न्याय दिने न्याय बेपत्ता । लोकतान्त्रिक देशमा शुसासन बेपत्ता । गर्भवती महिला बाटोघाटोमा असुरक्षित तवरले बच्चा जन्माउन विवश छन् । निमुखाको छोराछोरी पढ्ने स्कुलको छाना र भित्ता गतिलो छैन । कमसल सडकको कारण दैनिकजसो गाडी दुर्घटना हुन्छ । दुर्गममा ज्यान जोखिममा राखेर नागरिक तुईन चढिरहेका छन् । यि सबै कुराले दुरावस्थालाई गिज्यायो, मुठ्ठीभरलाई स्वर्ग छ । हेर्नुस त देश बनाउने छात्रछात्रा तुइन चढ्छन्, देश बिगार्ने नेता डेढ अर्बको हेलिकप्टरमा उड्छन् । गरिब जनता उपचार गर्न बाख्रा, कुखुरा बेच्छन् । उद्योगी नेता उपचार गर्न राज्यकोष लुटाउँछन् । किसानको छोरा काक्रो, मुला उब्जाउँछन्, नेता पुत्र बालुवा, सार्वजनिक जग्गा, सुन र रक्तचन्दन बेच्छन् । पहाडी क्षेत्रमा यत्रतत्र अझै तुइन देखिन्छ, दृश्य हेर्दै डरलाग्दो । हामी त पुरै ढुङ्गेयुगमा छौं । गफले मात्रै विस्थापन नहुँने, बजेट छुट्टिएर मात्रै नबन्ने । उनीहरू हेलिकप्टरमा उड्छन्, कसरी बुझ्ने ? कसरी समस्या देख्ने ? कसरी पिँडा थाहा पाउने ? भवन उद्घाटन गर्न हेलिकप्टर चढ्छन्, बाढीपहिरो हेर्न हेलिकप्टर चढ्छन्, केक समेत हेलिकप्टरबाट ओसार्छन् । तर विकटकी सुत्केरी हेलिकप्टरको पर्खाईमा मर्छिन्, दुरदराजमा तुईन चुडिएर मर्छन् । नेपाली भूमिमा पुग्न भारतीय सडक चाहिन्छ । अन्तिम भोज, गर मोज ।तिम्रा घर अगाडि चिल्ला सडक छन् । तिम्रा सन्तान पढने वोर्डिङसम्म ठूला वाटा छन् । तर बडेमानको तिम्रो गाडीले कर्णालीको पाखा चिन्दैन । तुइनले गाडी तारेर खोला कटाएको एलसीडीमा वार मुभि हेर्दै तिम्रा सन्तती रोमान्चित हुन्छन्, तर थाहा छ, त्यो दृष्य अझै कर्णालीको नियती हो । नेपालमा रेल होइन, पानीजहाज पनि होइन । यस्तो ठाँउमा पहिला पुल बनाइ देउ सरकार । जहाँ तुइनबाट जोखिम मोल्दै खोला तर्न बाध्य छन् जनता । गरिब जनताका छोराछोरीले पढ्ने स्कुलको सवलीकरण गर, हिड्ने बाटोहरूको सहजीकरण गर, तर्ने खोलाको तुइन विस्थापित गर, झोलुंगे पुल हाल, खेतियोग्य जमीन सिंचाइको व्यवस्था गर, गरिव जनतामाथिको शोषण वन्द गर, आफ्नो तलव भत्ता र सुविधा थपेर गणतन्त्रको मजाक उडाउन बन्द गर । दमकको भ्युटावरले एअरपोर्टमा नेपालीहरुको लर्को देखोस् । दमकको भ्युटावरले कर्णालीको तुईन देखोस् । दमकको भ्युटावरले सरकारी स्कुल रित्तिँदै गएको देखोस् । दमकको भ्युटावरले उपचारको लागि खेत बेच्दै गरेको बिरामी देखोस् ।तर के गर्नु शासकको करनीले भन्छ, ‘अस्पताल जाने हो तुइनबाट जाऊ, मन्दिर जान केवलकार हाल्नुपर्छ’ । ताप्लेजुङका स्थानीयले ‘हामीलाई केवलकार चाहिन्न’ भनेर ज्यान फालेरै विरोध गर्नुपर्छ तर कर्णालीका जनताले झोलुङे पुलको आश गर्दागर्दै स्वास गुमाउँनु पर्छ । सरकार पनि अचम्मको छ, जनता नचाहेको काम गर्छ तर चाहेको काम गर्दैन । तर पनि आफुलाई भनिरहन्छ, सरकार जनमुखी र जन उत्तरदायी छ भनेर । यदि त्यस्तो हो भने केबलकार पश्चिम कर्णाली तिर पठाउनु जहाँको नानीबाबुहरु तुइन चढेर स्कुल जाने अवस्था छ । अब देशभरि नै केवलकार पर्यटकका लागि हैन सर्वसाधारणको यात्राका लागी बन्नुपर्छ । यो डाँडा डाँडाको मन्दिर खोज्दै नीजि समुहले केवलकार राख्दै कमाउने धन्दा गरेर मात्र देशको विकास हुदैन । जहाँ जनताले यथार्थमा सुविधा पाएका पनि हुँदैनन ।